साथीको छुरा प्रहारबाट दुबईमा एक नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 21 | 02:02 pm 1951

काठमाडौं, वैशाख ८ :  दुबई (युएई) मा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको ज्यान गएको छ । रक्सी पिउने क्रममा दुई नेपालीबीच शुरु भएको विवादपछि साथीले साथीमाथि नै छुरा प्रहार गरी हत्या गरेका हुन् ।

युएईको रसअलखेमामास्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी विवाद शुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले जानकारी गराएका छन् । उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।

आ–आफ्नो क्षेत्र विकासमा अघि रहेका तर्क हुँदा राईले तिलकमाथि छुरा हानेको जनाइएको छ । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताएकी छन् ।

शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् । युएईमा गत असोजमा एक नेपाली महिलाले ४ जना नेपाली महिलामाथि छुरा प्रहार गरेकी थिइन् । एक जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.