काठमाडौँ, फागुन ३।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटमा गत शनिबार दाजुबहिनी ६ वर्षीय अश्वेत महर्जन र दुई वर्षीय रिवा मृत फेला परे । अनुसन्धानका क्रममा दुवैको हत्या ३६ वर्षीया आमा रविना महर्जनले गरेको खुल्यो । छोराछोरीको हत्यापछि रविना घरको छतमा चढिन् । त्यहीँबाट सडकमा हाम फालेकी उनको उपचारका क्रममा त्यही दिन बेलुका नै मृत्यु भयो ।
– शनिबार नै गौशालास्थित सिराहा–धनुषा होटेल एन्ड लजको कोठा नम्बर १०८ मा रामेछाप लिखु तामाकोशी गाउँपालिका– ५ की २८ वर्षीया प्रमिला दमाईंको मृत शरीर फेला पर्यो । उनको हत्या दोलखा बैतेश्वर गाउँपालिका– ७ का ३८ वर्षीय कुमार श्रेष्ठले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । कुमार उनका प्रेमी हुन् । लोकन्थलीमा कोठा भाडामा लिएर उनीहरू एक वर्षदेखि ‘लिभिङ टुगेदर’ मा बस्दै आएका थिए ।
– काठमाडौं– ६ धापासीस्थित टहरोमा शनिबार नै ओखलढुंगाको लिखु गाउँपालिका– ३ का २३ वर्षीय दीपेश खड्काको मृत शरीर फेला पर्यो । उनको टाउको क्षतविक्षत देखिन्थ्यो । भुइँमा रगतको आहाल थियो । घटनाको अनुसन्धानपछि उनकै गाउँका १८ वर्षीय विकास थापामगर पक्राउ परे । थापा खड्काकै सहयोगी हुन् । ‘प्लम्बिङ’को काममा संलग्न खड्काले नै उनलाई सहयोगीका रूपमा राखेका थिए ।
– गत ६ कात्तिकमा काठमाडौं–१५ स्वयम्भु शोभाभगवतीस्थित सरिता गिरीको घरको कोठामा तनहुँ भिमाद नगरपालिका–१ की ५१ वर्षीया सफिना मियाँको शरीर मृत अवस्थामा फेला पर्यो । उनको टाउकामा गम्भीर चोट देखिन्थ्यो । शरीरको आधा भाग गलेर नष्ट भइसकेको थियो । अनुसन्धानपछि भारत बिहार दरभंगा लालबागका ४७ वर्षीय इकरामुल हक अन्सारी पक्राउ परे । अन्सारी मियाँका प्रेमी थिए । उनीहरू एक वर्षदेखि ‘लिभिङ टुगेदर’मा थिए ।
उपत्यकाभित्र भएका उल्लेखित चारवटै हत्या घटनाका अभियुक्त र मृतक परिवारभित्रकै सदस्य वा नजिकको सम्बन्ध भएका हुन् । यस्ता घटना पछिल्ला दिन देशभर बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७३/७४ देखि चालू आवको पुससम्म देशभर चार हजार तीन सय ७० जनाको हत्या भयो । जसमध्ये करिब ९० प्रतिशत घटनामा चिनजान र परिवारभित्रकै सदस्य संलग्न थिए । यसको मुख्य कारण अनैतिक सम्बन्ध र आवेग हुने गरेको प्रहरीको विश्लेषण छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीम ढकालले देशभर भएका अधिकांश हत्या परिवारभित्रैका सदस्य तथा चिनजानमा रहेकाहरूबाट हुने गरेको बताए । ‘पछिल्ला दिन हत्याका घटना बढेको देखिन्छ । ‘ट्रेन्ड’ हेर्दा यस्ता घटना संगठित र योजनाबद्धभन्दा पनि आवेग प्रेरितजस्ता देखिन्छन् । चिनजान र परिवारभित्रकै सदस्य घटनामा संलग्न देखिन्छन् । यस्ता आपराधिक घटना हुनुका अनेक कारण छन् । जसमध्ये ‘कमन’ कारण चाहिँ अनैतिक र विवाहेत्तर सम्बन्ध रहेको देखिन्छ,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेले अधिकांश हत्या चिनजानकैबाट हुनुका पछाडि व्यक्तिगत व्यवहार, दण्डहीनतादेखि सामाजिक संरचनासम्म रहेको बताए । उनले भने, ‘हत्याका अधिकांश घटनामा परिवारभित्रकै सदस्य तथा चिनजानका व्यक्तिहरू संलग्न रहेको देखिन्छ । यसलाई लिएर विभिन्न अध्ययन पनि भएका छन् । व्यक्तिगत व्यवहार, पारिवारिक पृष्ठभूमि, सामाजिक संरचनालगायतका कारणले यस्ता घटना हुने गर्छन् । तर, यी घटनालाई नेपालको परिप्रेक्ष्यमा हेरिनुपर्छ । यसरी हेर्दा दण्डहीनता नै मुख्य कारण देखिन्छ ।’
दैनिक दुईजनाको हत्या
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात वर्ष ६ महिनामा देशभर चार हजार तीन सय ७० को हत्या भएको छ । यसलाई आधार मान्दा प्रत्येक दिन १.५९ अर्थात् कम्तीमा दुईजनाको हत्या हुने गरेको देखिन्छ ।
यस अवधिमा हत्या गरिएकामध्ये ५५.५८ प्रतिशत अर्थात् दुई हजार चार सय २९ पुरुष छन् । त्यस्तै, एक हजार चार सय ८१ जना महिलाको हत्या भएको छ । यो कुल संख्याको ३३.९० प्रतिशत हो । हत्या भएका सात प्रतिशत अर्थात् तीन सय पाँच बालक र ३.५० प्रतिशत अर्थात् एक सय ५५ बालिका छन् ।
प्रहरी प्रवक्ता डिआइजी ढकालले हत्यासहितका आपराधिक घटनाको अनुसन्धान गर्ने, अभियुक्त पक्राउ गर्ने, दोषीलाई दण्ड र पीडितलाई न्याय दिने काममा प्रहरी लागेको बताए ।
(नयाँ पत्रिकाबाट)