सात वर्षमा पनि भएन कालोपत्रे

रिपोर्ट नेपाल | 2023 Mar 21 | 07:24 am 1185

धनकुटा, चैत ७ः मध्यपहाडी लोकमार्गको धनकुटा खण्ड अन्तर्गत सबैतिर सडक निर्माणकार्य पूरा हुँदा पनि माङ्गमायादेखि वरडाँडासम्म तीन किलोमिटर सडक भने अझै पूरा हुन सकेको छैन। अन्यन्त्र सबै ठाउँमा सडक निर्माण भएको सात वर्ष बित्न लाग्दासमेत यो क्षेत्रमा भने काम भएको छैन।

धनकुटामा मध्यपहाडी लोकमार्ग तेह्रथुमबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चित्रेबाट सुरु भएर छथरजोरपाटी हुँदै धनकुटा नगरपालिका पाख्रिबास नगरपालिका र, पुनः महालक्ष्मी नगरपालिकाको लेगुवा बजारमा पुगेर भोजपुरतर्फ लाग्छ। यो सडकको धनकुटा खण्डमा मात्र करिब पचास किलोमिटर पर्दछ।

सडक समयमै निर्माण पूरा नहुँदा बर्सेनि समस्या भोग्नु परेको स्थानीयको गुनासो छ। समयमा बाटो पिच नहुँदा दैनिक चल्ने यातायात तथा विद्यार्थी तथा व्यवसायीले विभिन्न समया भोग्दै आएका छन्। होटल व्यवसाय हिउँदमा धुलो र वर्षामा हिलोको कारण धरापमा परेको स्थानीय तोर्णबहादुर बस्नेत बताउछन्। उनले भने, “सडक बनाउन थालेको सात वर्ष भयो तर समस्या झन् बढेको छ व्यापार व्यवसाय गर्ने अवस्था छैन।”

निर्माण कम्पनी बिरुवा कन्ट्रक्सनले हिलेदेखि लेगुवा सडकखण्ड मध्येका १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा २०७२ सालमै पाएको थियो। उसले २०७५ सालमा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने थियो तर पटकपटक गरी चार पटक म्याद थप गर्दासमेत सडक सम्पन्न हुन सकेको छैन। थपिएको म्यादअनुसार ठेकेदार कम्पनीले चैत्रभित्रमा काम सम्पन्न गर्नुपर्ने छ। पेटी ठेकेदारले काम नगरी दिँदा तथा कोरोना कहरका कारण समयमै काम गर्न नसकिए पनि यो थप गरिएको समयभित्र सम्पन्न गरिने ठेकेदार कम्पनीले जनाएको छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.