सात वर्षपछि कांग्रेसका ४२ विभाग गठन गर्दा ८८२ ले पद पाउने

रिपोर्ट नेपाल | 2018 Jun 14 | 07:06 am 1393

काठमाडौं, जेठ ३१ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनको तयारी थालेका छन् । सभापति भएको २७ महिनापछि उनले पार्टीका ४२ विभाग गठन गर्न लागेका हुन् । ५ देखि ७ असारसम्म जिल्ला सभापतिको भेला भएलगत्तै विभाग गठन गर्ने मनस्थिति बनाएका देउवाले रामचन्द्र पौडेललगायत नेताहरूसँग परामर्श गरिरहेका छन् ।

१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले विभाग गठन गरे पनि आफूहरूसँग सल्लाह नगरी संयोजक तोकेको भन्दै तत्कालीन देउवा पक्षले राजीनामा दिएका थिए । त्यसपछि विभागले काम गर्न सकेको थिएन ।

तर, १३औँ महाधिवेशनबाट आफैँ सभापति बनेपछि पनि २७ महिनासम्म देउवाले विभाग गठन गरेनन् । अब भने देउवा ढिलाइ गर्ने मनस्थितिमा नरहेको पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

‘विभाग गठन गर्नका लागि होमवर्क गरिसकेका छौँ । सभापतिले रामचन्द्र दाइसँग विभाग संयोजकसहितका लागि सुझाब मागिसक्नुभएको छ,’ महतले भने, ‘सबैको सहभागितामूलक होस् भन्ने चाहना सभापतिको छ । पक्ष, विपक्ष नभनी अब पार्टीलाई अघि बढाउने पक्षमा उहाँ हुनुहुन्छ ।’

विभागमा कतिले काम पाउँछन् ?

हरेक विभागमा एक संयोजक र २० सदस्य चयन हुन्छन् । विभागीय संयोजक केन्द्रीय सदस्यमध्येबाट हुने भए पनि विभागमा क्रियाशील सदस्यमध्येबाटै बनाउन पाइन्छ । ४२ विभाग गठन हुँदा जिल्ला, क्षेत्र, गाउँ र नगरसम्मका नेता कार्यकर्ताले अवसर पाउँछन् ।

‘एउटै विभागमा २१ सदस्यले अवसर पाउँछन् । जहाँ केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ नगर, वडासम्मका नेता कार्यकर्ता सदस्यमा अटाउँदा पार्टीले संगठनलाई अझै व्यवस्थित बनाउन सक्छ,’ केन्द्रीय सदस्य श्यामकुमार घिमिरले भने, ‘४२ विभागमा २१ का दरले ८८२ जनाले काम पाउँछन् ।’

देउवाले भने– अब रोक्दिनँ

सभापति देउवाले पौडेल पक्षसँग पनि नाम मागेको भन्दै अब कुनै पनि हालतमा विभाग गठन नरोकिने बताएका छन् । ‘सभापतिले विभाग गठनका लागि परामर्श गरिरहेको बताउनुभएको छ,’ देउवालाई भेटेपछि एक केन्द्रीय सदस्यले भने, ‘पौडेल पक्षसँग नाम मागेको छु, सहमतिबाटै गर्नुपर्छ भन्नेमा छु, अब जिल्ला सभापतिको भेलापछि कुनै हालतमा विभाग गठन रोक्दिनँ भन्नुभएको छ ।’

विधानमा ३०, नियमावलीमा ३२ र केन्द्रीय समितिमा ४२ विभाग

कांग्रेसको विधानमा ३० वटा विभाग हुने उल्लेख छ । तर, नियमावलीले ३२ वटाको व्यवस्था गरेको छ । नेताहरूको चाप धेरै भएपछि फेरि केन्द्रीय समितिले भने विभागको संख्या ४२ पुर्‍यायो । तर, यी ४२ वटा विभागले राम्रोसँग काम नै गर्न सकेका छैनन् । सहमहामन्त्री महतले केन्द्रीय समितिले निर्णय गरेअनुसार नै ४२ विभाग गठन हुने बताए ।

नयाँपत्रिका दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.