सातै प्रदेशका प्रमुख पनि हटाइने

रिपोर्ट नेपाल | 2018 Jul 05 | 02:00 pm 3781

काठमाडौँ,असार २१ : देउवा नेतृत्वमा रहेको सरकारले गरेका नियुक्ति सबै बदर गर्ने बुधबार बेलुकाको मन्त्रिपरिषद निर्णयका कारण सातवटै प्रदेशका प्रदेश प्रमुखहरु पनि हटाइने भएका छन् ।

बुधबार बेलुकाको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गतेदेखि फागुन ३ गतेसम्म तत्कालिन देउवा सरकारले गरेका सबै प्रकारका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सातै प्रदेशका प्रमुखहरु पनि पदमुक्त हुने भएको बुझिएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले माग ३ गते प्रदेश १ का प्रमुखमा गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गर्ने निर्णय गरेको थियो।

नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाको दफा ३ अनुसार राष्ट्रपतिले चाहेमा मात्रै पदावधि समाप्त हुनुभन्दा अगावै प्रदेश प्रमुखलाई पदमुक्त गर्न सक्ने व्यवस्था गरेको छ। सरकारको यो निर्णयका विरुद्ध पदमुक्तमा परेका सबै पदाधिकारीहरु सर्वोच्च अदालतको ढोका घचघचाउन जाने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.