सातामा अर्ब पनि पुगेन कारोबार रकम, नेप्से पनि ओरालो

रिपोर्ट नेपाल | 2018 Aug 11 | 03:28 pm 1452

काठमाडौं, साउन २६: धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ। कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन। नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने रु ९१ करोड ८७ लाख ३२ हजारमा मात्रै सीमित भएको छ।

यस साता कूल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर रु एक अर्ब सात करोड ६७ लाख ४८ हजारमा कारोबार भएको थियो।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन एक हजार १८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ९० लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको कूल पाँच लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.