सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने : मन्त्री पण्डित

रिपोर्ट नेपाल | 2019 Nov 18 | 07:02 pm 1260

काठमाडौं, मंसिर २ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।

प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए ।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्न्तिर सरकार लागेकोसमेत बताए । अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न नसकेको भन्दै उनले अब स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने बताए ।

उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध भएमात्र सङ्घीयता कार्यान्वयनमा सहज हुने भन्दै प्रतिष्ठानले अहिलेसम्म प्रदेश नं १, प्रदेश नं २, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा तीन तहको अन्तर तह सम्बन्ध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.