साढे सात लाख रुपैयाँसहित दमकबाट ११ जुवाडे पक्राउ

| 2021 Jul 07 | 07:47 am 1913

झापा, असार २३: तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट साढे सात लाख रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ।

दमक नगरपालिका–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार ११ बजेतिर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ६ बुक ताससहित सात लाख ४५ हजार ५०० समेत बरामद गरेको थापाले जानकारी दिए।

पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा रहेका छन्।

यस्तै, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.