पोखरा, मंसिर १९ : १३औँ सागअन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ। मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने जानकारी गराएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए।
उनका अनुसार नेपालसहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागि हुने भएका छन्। भुटानका नौजना खेलाडीहरू प्रतियोगितामा सहभागि हुँदैछन् भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरू सहभागि हुने भएका हुन्।
प्रतियोगिता बिहीबार बिहान ८:१५ बजे उद्घाटनपश्चात र्याङकिङ राउण्ड सुरु हुने भएको उपाध्यक्ष थकालीले बताए। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुने भएको छ।
त्यसैगरी, कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरू प्रतिस्प्रर्धामा उत्रिने छन्।
यस प्रतियोगितामा सहभागी खेलाडीहरूको विश्व आर्चरी महासंघले समेत र्याङकिङ गर्ने भएको छ। विश्व आर्चरी महासंघबाट प्रतिबन्ध (सस्पेन्स) भएको भारत १३ औँ सागमा सहभागी हुनेछैन। अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागि नगराउन साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको थियो।
सागको आर्चरी पोखरामा मंसिर २३ गतेसम्म हुनेछ। २२ र २३ गते पदकको लागि फाइनल राउण्ड हुन्छ। अन्य दिनमा विभिन्न चरणमा प्रतिष्प्रर्धा हुने भएको छ।