साइकलमैत्री सहर बनाउन दबाबस्वरुप काठमाडौंमा विशाल साइकल र्‍याली

| 2022 Jun 04 | 05:22 pm 1225

काठमाडौं, जेठ २१: साइकलमैत्री सहर बनाउन दबाब दिने उद्देश्यले शनिबार ललितपुरको पाटन दरबारदेखि काठमाडौंको दरबारमार्गसम्म साइकल र्‍याली गरिएको छ। साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली पुलचोक, थापाथली, त्रिपुरेश्वर  हुँदै दरबारमार्ग पुगेर भेलामा परिणत भएको थियो।

नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै गएको अवस्थामा साइकलको प्रयोगमा प्रोत्साहन गर्न र्‍यालीको आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हप्ताको एक दिन काठमाडौंमा ‘साइकल डे’ मनाउने र काठमाडौंमा साइकल लेन बनाउने विषयमा अध्ययन र छलफल अघि बढाउने बताए। साइकल लेन बनाएमात्र सुरक्षित यात्रा हुनसक्ने उनको भनाइ थियो।

त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरमा ३२ दशमलव ५ किलोमिटर साइकल लेन बनाइसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउने बताए। उनले ललितपुरभित्र पर्ने चक्रपथमा समेत साइकल लेन बनाउने काम छिट्टै सुरु हुने बताए।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, विश्व साइकल यात्री पुष्कर शाह, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, कलाकार सरोज खनाल, अभियानका संयोजक डा. तारालाल श्रेष्ठलगायत साइकल अभियानकर्मी तथा विभिन्न व्यक्तिहरूले सम्बोधन गरेका थिए। साभार अन्नपूर्ण पाेस्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.