सांसद पालमाथि आक्रमण प्रयासको निन्दा, समितिका सदस्यलार्इ सुरक्षा व्यवस्था

| 2018 Aug 02 | 07:01 am 1564

काठमाडौं, साउन १७: संसदीय सुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ।

समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरुको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताउनुभयो । समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि आजै सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ।

यसरी भयो ममाथि आक्रमण : सांसद पाल

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८:१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो ।

सांसद पालले भनिन्, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्र्याएर मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु ।”

मंगलबारको घटनाबारे कुरा गर्दै उनले भनिन्, “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन-चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन ।”

घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराएकी थिइन् । संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भनेपछि आफूले परिवारका सदस्यलाई पनि नभनेको बताइन्। बुधबारको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो । बुधबार नै पालसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.