सांसद गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन

रिपोर्ट नेपाल | 2020 Jul 07 | 04:50 pm 1999

काठमाडौं, असार २३ः समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन गरिएको छ।

मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको बताइएको छ।

गिरीले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

गठित कार्यदलले गिरिलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो। समाजवादी पार्टीका विश्‍वदीप पाण्डेले संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गरिएको पुष्ट गरेका छन् ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्तिहरु दिँदै आएकी थिइन् ।

गिरिलाई कारबाही गरिएको बारे अब निर्वाचन आयोगलाई जानकारी गराउने तयारी रहेको समाजवादी पार्टीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.