काठमाडाैं, पुस ११ः सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व कीर्तिमान कायम गरेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनले ४ घन्टाभन्दा बढी समय स्टेजमा गीत गाएका थिए ।
बालाजुस्थित अष्टनारायण चलचित्रहलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरको कन्सर्ट सुरु भएको थियो । मानन्धरको सांगीतक कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका हुन् । कन्सर्टमा उनले ५९ वटा गीत गाएका थिए ।मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्वरेकर्ड कायम गरेका हुन् ।
राज्यमन्त्री मानन्धरले सबै गीतहरूको रोयल्टीसमेत तिरेर आफूले गीत गाएको बताए । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरू गाएका थिए ।
नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए ।