धनुषा, कात्तिक ७ः मुलुकको राजधानी सहर काठमाडौंका विद्यार्थीले ‘जुम’ लगायत सफ्टवेयरमार्फत अनलाइन शिक्षा लिइरहँदा ‘अफलाइन’ अवस्थामा रहेका दूरदराजका विद्यार्थी ज्ञानको ज्योतिबाट टाढिँदैछन्। सहरमा विद्यार्थीका हातमा मोबाइल र कानमा एयरफोन सामान्य लाग्छन्। गाउँतिरका विद्यार्थीमा भने औंलामा गुच्चा र निधारमा धुलो टाँसिएको देखिने हुँदा उनीहरूको भविष्य अन्योलमय छ भन्ने स्पष्ट हुन्छ। ‘नपढेको कति भयो कति ? धनौजी गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ४ का भरत यादवले कक्षाकोठाको झ्यालबाट चिहाउँदै भने, कहिले पढाइ हुन्छ, त्यो पनि थाहा छैन। रित्तो कोठाको धुले भुइँमा खेल्दै गरेका उनले अनलाइन क्लास’ बारे केही थाहा नपाएको बताए।
विद्यार्थीका घरमा कुरै छाडौं, विद्यालयमै इन्टरनेट सुविधा छैन, प्रधानाध्यापक रामनारायण मण्डलले भने, यस्तो अवस्थामा अनलाइन कक्षाको कल्पना पनि गर्न सकिएको छैन। सानो प्रोजेक्टर अभावमा टोल–टोलमा गएर शिक्षा दिने सोचसमेत पूरा हुन नसकेको उनले बताए। बरु वडा कार्यालयमा इन्टरनेट सुविधा छ, उनले भने, विद्यालयमा नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको उनले बताए।
समस्या यो विद्यालयमा मात्र होइन, धनौजी–५ भरि नै यस्तै छ। केटाकेटी आँगनको धुलोमा गुच्चा खेल्दै गरेको दृश्यले अविभावकको मनसमेत कुँडिने गरेको छ। नानीहरूले नपढेको महिनौं भइसक्यो, धनौजी–२ कि बबितादेवी सदाले भनिन्, उनीहरूले नपढ्दा हामीलाई पो दुःख लाग्छ। छोराछोरीलाई पढाएर सुखका दिन आउने आशा गरेकी बबितादेवीले निराशा थपिन थालेको बताइन्। हाम्रा नानीहरू सधैं पछि पर्ने भए, मुसहर समुदायकी उनले भनिन्, अब कहिले अगाडि बढ्ने हुन्, थाहा छैन।
समस्या धनौजीको मात्र होइन, देशका अधिकांश ग्रामीण क्षेत्रको अवस्था उस्तै छ। भोजपुरस्थित हतुवागढी गाउँपालिका–९ जलपा प्राविका प्रधानाध्यापक देवेन्द्र घिमिरेले गाउँमा अहिलेसम्म बिजुली बत्तीसमेत नभएको बताए। गाउँमा लाइन छैन, केको अनलाइन ? उनले भने, लाइन मात्र भइदिएको भए केही उपाय लाग्थ्यो कि ! गाउँमा टिभी र मोबाइलसमेत नरहेको अवस्थामा विद्यार्थीको शिक्षामा पहुँच निकै कम भएको उनको भनाइ छ। नागरिक दैनिकबाट