काठमाडौं, फागुन २: सहकारी संस्थामार्फत देशभर झन्डै आठ लाख लिटर दूधको बजारीकरण भइरहेको छ। दूधको कुल बजारीकरण हिस्सामध्ये आधा स्थान सहकारी संस्थाले ओगटेको छ।
देशभर दैनिक १५ लाख लिटर दूधको माग भए पनि हालसम्म दैनिक १२ लाख लिटर दूधको उत्पादन र कारोबार भइरहेको छ। दूधमा नेपाल अझै परनिर्भर छ। तीन लाख लिटर दूध अपुग रहेको सरकारी आँकडा छ। बचत तथा ऋण सहकारीमै रमाइरहेका सहकारी संस्था पछिल्लो समय कृषि उपजमा पनि सक्रिय बनेपछि दैनिक कुल कारोबार हुने दूधको आधी बजार क्षेत्र सहकारीले ओगट्न सफल भएको हो।
दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अनुसार देशभर १ हजार ६ सय ५२ वटा दुग्ध सहकारीमध्ये १ हजार २ सयले नियमित रूपमा दूध उत्पादन र बजारीकरण गर्दै आएको छ। अध्यक्ष नारायण देवकोटाका अनुसार सहकारीमार्फत दैनिक आठ लाख लिटर दूध उत्पादन हुने गरे पनि पछिल्लो समय कोभिड—१९ का कारण गत वर्ष सहकारीमार्फत सात लाख लिटर मात्रै उत्पादन भएको छ।
उत्पादन र बजारीकरणमा सहकारीले आधाभन्दा बढी हिस्सा ओगट्न सफल भएको अध्यक्ष देवकोटाले बताए। सहकारीले सानादेखि ठूला प्रशोधन केन्द्र सञ्चालन गरेका छन्।
अध्यक्ष देवकोटाका अनुसार दैनिक १० हजार लिटर दूध बिक्री गर्ने २० भन्दा बढी सहकारी संस्था छन्। सहकारीले दैनिक ५० लिटरदेखि १० हजार लिटरसम्म दूध बिक्री गर्छन्। सहकारीले दुग्ध परिकार दूध, दही, पनिर, घिउ, बटर बनाएर बिक्री गर्छन्। काभ्रे, चितवन, इलाम, रूपन्देही, नवलपरासी र मकवानपुर जिल्लामा सबैभन्दा बढी दूध उत्पादन र बजारीकरण हुने संघले जनाएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट