सहकारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा ७ पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 29 | 11:04 am 2214

लहान, १३ असोज : हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

गत भदौ २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम सङ्कलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका–२२ सागरपुर नजिकै मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको रु तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए ।

उनीहरूको साथबाट ‘मेड इन युसए एन ७१०’ लेखिएको पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एक थान, म्यागजिन एक थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल एक थान, नेपाली रु छ हजार १५० , विभिन्न कम्पनीको सिमकार्ड पाँच थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमतिपत्र, लुटिएको नेपाली नम्बरप्लेटसहिको बीआर३२ए ९३७३ नं को मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.