काठमाडौं, जेठ ८ः बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् । कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप छ ।
‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरूले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ –बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् । श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रूपमा मानसिक तनाव आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताइन्। ‘उनले प्रहरीमा निवदेन दिएर हराएका रहेछन्, नगरपालिकाको तर्फबाट केही जानकारी नआए पनि प्रशासनले निरन्तर खोजिरहेको छ’ –प्रजिअ श्रेष्ठले भनिन् ।
नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर उनी अहिले सम्पर्कविहीन भएको बताए । ‘उहाँले ५ गते आफू नआउन्जेल कार्यवाहक चलाउनुस् भन्ने पत्र दिएर जानुभएको थियो, त्यसपछि कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, फोन पनि अफ छ सम्पर्क पनि भएको छैन’ –उपप्रमुख कायतले बताए । आफूले सहकारीमा समस्या थियो भन्ने सुनेको, पत्र दिएपछि कहाँ जानुभयो, किन हराउनुभयो भन्ने केहीबारेमा केही थाहा नभएको उपप्रमुख कायतले बताए । नेपाल समाचारपत्रबाट