झापा,बैशाख २: झापाको अर्जुनधारास्थित नयाँ बसपार्कमा सस्तोमा जग्गा दिलाइदिन्छु भन्दै एक महिलाबाट ३२ लाख रुपैयाँ लिएर फरार घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रामेछाप देउरालीका भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङका काठमाडौंको गुर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङ बेलबारीका झापा मेचीनगर नगरपालिका–६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापा कमल गाउँपालिका–५ बस्ने ५२ वर्षीय विजय राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्क नजिकै दुई कट्ठा जग्गा सस्तोमा बिक्री भइरहेको र खरिद गर्न आउनु भनी विजयले मोरङ जिल्ला उर्लाबारी नगरपालिका–४ बस्ने विष्णुमाया सापकोटा सुवेदी र अनिल विश्वकर्मालाई चैत ३० गते दिउँसो १ बजे बोलाएका थिए।
तर, विजयले जग्गा खरिद बिक्री गर्ने कुनै बैना कागजात नबनाई विष्णुमायाले लिएर आएको ३२ लाख रुपैयाँ लिएर त्यहाँबाट फरार भएका थिए। रकम लुटिएको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए। लुटिएको रकमसहित दुईजना इलामतर्फ भागेको सूचना पाएलगतै प्रहरीले जिल्ला प्रहरी इलामसँग सहकार्य गरी इलाम नगरपालिका–७ पुरानो बसपार्कस्थित होटलबाट राजेश र जनकलाई १४ लाख ६५ हजार नगदसहित पक्राउ गरेको डीएसपी रिजालले बताए।
घटनामा संलग्न विजय र रणबहादुरलाई बिर्तामोडको प्रहरी टोलीले अर्जुनधारा–११ स्थित एउटा लजमा लुकिछिपी बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको उनले बताए।
पक्राउ परेकामध्ये विजय र रणबहादुरले विष्णुमायाको रकम ठगी गर्ने योजना बनाएका थिए। विजय र विष्णुमाया एकै गाउँका बासिन्दा हुन्। चिनजानको आधारमा विजयले विष्णुमायालाई नयाँ बसपार्कमा सस्तो मूल्यमा दुई कट्ठा जग्गा दिलाइदिन्छु भनेर विश्वास दिलाएका थिए।
विजयले चैत २८ गते राजेश र जनकलाई सम्पर्क गरी जग्गा खरिद गर्ने मानिस झापा आउँदै छ भनी जानकारी गराएका थिए। त्यसपछि चारजनाले अर्जुनधाराको नयाँ बसपार्कमा बसेर रकम ठगी गर्ने योजना बनाए। योजना बनाइसकेपछि विजयले चैत ३० गते विष्णुमायालाई नयाँ बसपार्कको नवज्योति होटेलमा बोलाए। र, उनीसँग रकम लिएर त्यहाँबाट भाग्न सफल भएको डीएसपी रिजालले बताए। अन्नपूर्ण पाेस्टबाट