विराटनगर, मंसिर २७ : सुनसरी र सप्तरीमा क्रियाशील सशस्त्र समूह अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहका नेता र कार्यकर्ताहरूले राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाएका छन् ।
बिहीबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रम बिच सप्तरी जमुनीमधेपुरा गाउँपालिकाका विवेक भन्ने विनोदकुमार यादव, गोबरगाढा गाउँपालिकाका विनायक कुमार यादव, टिकौल गाउँपालिकाका जयप्रकाश लिचपुरिया र सुनसरीको कोसी गाउँपालिकाका रामनन्दनकुमार कामैतले शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न हुने भन्दै राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलाई दुई थान कटुवा पेस्तोल र एउटा होममेड पेस्तोल बुझाएका छन् ।
सरकारले असन्तुष्ट, द्वन्द्वरत र संविधान प्रति अनास्था राख्ने समूहहरूलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन तथा संविधानको दायरा भित्र ल्याएर राजनीतिक गतिविधिमा संलग्न गराउन राजनीतिक वार्ता टोली गठन गरेको थियो । सो वार्ता टोलीसँग पटक पटक वार्ता र सम्वाद भएपछि शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको मोर्चाका नेता विनोदकुमार यादवले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले सरकारले गठन गरेको राजनैतिक वार्ता टोलीले २४ वटा समूहहरूसँग वार्ता र सम्वाद थालेकोमा सिके राउतसंग वार्ता नै नगर्ने र विप्लव समूहसँग वार्ता प्रयास भइरहेको जानकारी दिए । उनले मुलुकमा गणतन्त्र र सङ्घीयता आइसकेपछि पनि शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि नगर्नेलाई विद्यमान ऐन कानुन र संविधान बमोजिम कारबाही गर्न सिफारिस गर्न लागेको जानकारी दिए ।