काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गरेकी छन् ।
उप–प्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिकोत्सवलाई प्रमुख अतिथीकोको आसनबाट सम्बोधन गर्दै पवित्र संगठनले नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारको साथसाथै समाज सेवामा पनि समर्पित रहेको बताएकी थिइन् ।
राज्यको सीमामा दरिलो खम्बा बनेर विपद्, प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुका जीवन संगिनीहरुको त्याग र समपर्ण भावको मुक्त कण्ठले प्रशंसा गर्दै उप–प्रमुख डंगोलले –‘नारीहरु संगठित भई कार्य गरे शब्दकोषमा समेत असंभव भन्ने शब्दको स्थान नै नरहने बताइन् ।’
उप–प्रमुख डंगोलले महिलामा हुने सबै प्रकारका हिंसा र विभेदहरुको विरुद्ध आवाज उठाउँदै सहभागिता, समानता र समतायुक्त समाजको परिकल्पना साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै पुरानो सत्तात्मक समाजमा अधिकार खोज्नुमात्र समस्याको समाधान नभई भएका अधिकारहरुलाई समेत उपभोग गरी समतामुलक समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको कुरामा जोड दिएकी थिइन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौडका विजयी खेलाडी लगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए ।
सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेकी थिइन् ।
अध्यक्ष अर्यालले संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारी तथा गैरसकारी संघसंस्था एवं अन्य महानुभावहरुको अनुकरणीय योगदानप्रति आभार प्रकट गरेकी थिइन् ।
अध्यक्ष अर्यालले कुनैपनि सेवामुलक कार्य एक व्यक्तिको प्रयासले मात्र सहज नहुने बताउँदै नारी शसक्तिकरण तथा बालबालिका, बृद्धबृद्धा, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा अगाडी बढ्न सशस्त्र प्रहरी बल नेपाललाई काठमाडौं महानगरपालिका तथा नगरपालिकाको सहयोग र सद्भाव निरन्तर मिल्ने अपेक्षा राखेकी थिइन् ।
कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक गतिविधि र भावी योजना प्रस्तुत गरेकी थिइन् ।


