सप्तरी, असोज १४ । छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट करीव ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट ( वाकिटकी) बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा वाकिटकी सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।
विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।
यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमा ईलाकाबाट असोज १२ गते करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।
बरामद रेडियो सेट, प्रिन्टर मेसीन र मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन् ।