सशस्त्र प्रहरीद्वारा लागूऔषध तथा चोरीपैठारीको सामानसहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jun 25 | 09:48 pm 3313

महोत्तरी, असार ११ः जिल्लाको सम्सी गाउँपालिका ६ कनवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको सम्सी गाउँपालिका ६ बस्ने ३६ वर्षीय शेष समसुदिन, सोही गाउँपालिका ७ बस्ने ३४ वर्षीय ममसमी नदाफ, २५ वर्षीय तिलक लामा र ४३ बर्षीय राम परियार रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेल्याव ८० वटा, नोफिन १ सय ६० वटा र डाईलेक्स डिसी १ बोतल फेला परेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही महानगरपालिका १ बस्ने २२ वर्षीय अवदेश कुमार दासलाई पक्राउ गरेको छ ।

प्रदेश १–०२–०४३ व २८०३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दासलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेल्याव २४ वटा,
एभिल २५ वटा, लुपिजेसिक २५ वटा, मोवाईल १ थान र १७ हजार ९ सय ३० नेपाली रुपैयाँ फेला परेको हो ।

सशस्त्र प्रहरीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक पक्राउ
कैलाली जिल्लाको टिकापुर नगरपालिका १ टिकापुरस्थित बसपार्क ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ चार लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको टिकापुर नगरपालिका ८ बस्ने ४० वर्षीय ज्योतीसिंह चौधरी रहेका छन् ।

भारतबाट अवैध रुपले से २ प ५५४८ नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त हार्डवयरका सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट
कालाकुण्डाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई बरामद सामान तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सेती भन्सार कार्यालय खक्रौलामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.