काठमाडौं, माघ १२: सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट चोरीपैठारीका सामान बरामद गरेको छ ।
रौतहट जिल्लाको गौर नगरपालिका ४ स्थित कबिर चोकबाट शनिबार एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले गौर भन्सार कार्यालयमा बुझाएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले आइतबार करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।
ज ८ प ५५७४ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वर ईलाकाबाट बरामद गरेको हो ।