महोत्तरी, मंसिर १८ः जिल्लाको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए।
सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेको अवस्थामा तीनै जनालाई गाँजासहित पक्राउ गरिएको जनाइएको छ । गाँजासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
ब्राउन सुगर हित चार एक पक्राउ
झापा जिल्लाको मेचिनगर नगरपालिका ४ स्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । डब्लु बि ७४ ए के ६०९९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने ३७ बर्षीय समर बहादुर आलेलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश राईसिङबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेका आलेलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
श्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक पक्राउ
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट श्रोत नखुलेको नौ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले भारतको
मधुवापुर घर बताउने अभिराम पुर्वेलीलाई पक्राउ गरेको छ । बि आर ०७ सि जे ७९५९ नम्बरको भारतीय स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथमा एक थान मोबाईल सेट , एउटा सुनको हनुमानको माला र उक्त स्कुटर समेत बरामद गरिएको हो । पक्राउ परेका पुर्वेलीलाई बरामद रुपैया, सुनको माला, मोवाईल सेट र स्कुटरसहित आवश्यक कारवाहिका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
माछासहित एक जना पक्राउ
सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले माछासहित सोही जिल्लाको छिन्नमस्ता गाउँपालिका ७ बस्ने
५० वर्षीय चन्देश्वर मुखियालाई पक्राउ गरेको छ । स ७ प १२०९ नम्बरको मोटरसाईकलमा राखी भारतबाट नेपालतर्फ आउँदै गरेका निज
मुखियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका मुखियालाई बरामद मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीका बिभिन्न सामान बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीका
बिभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ३ वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भाँडावर्तन, जुत्ता र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको टोलीले बरामद गरेको हो ।
यसैगरी धनुषा जिल्लाको शहिदनगर गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।