काठमाडौं, साउन १२ः सवारी लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका ८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका ३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
त्यस्तै आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा कन्काई नगरपालिका ९ का २२ वर्षीय तिलक राज थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका ८ का ३८ वर्षीय सुबास राईको घरमा खाना खाने क्रममा एक आपसमा झगडा हुँदा राईले थापालाई फलामको रड प्रहार गरेपछि थापाले धारिलो हतियार दाउले प्रहार गर्दा राई गम्भीर घाइते भएका थिए ।
सामान्य चोट लागेका थापालाई विर्तासिटि अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।
घाइते राईलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएको छ ।
यसैगरी छिमेकीलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा गौरीगंज गाउँपालिका २ का ४२ वर्षीया ललिता देवी डुमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादका कारण डुमले सोही ठाउँ बस्ने लम्घार किस्कुलाई दाउले प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।