सवारी दुर्घटना रोक्नका लागि सडकका छेउछाउमा स्टिलबार लगाइँदै

रिपोर्ट नेपाल | 2018 Dec 28 | 04:13 pm 1619

डोटी, पुस १३ : सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो ।

क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालयको सहयोगमा जिल्लाका केआइसिंह राजमार्गका दिपायल, सिलगढी, शान्तिनगर, फुलौट, रामपुर, कालागाढलगायत क्षेत्रका सडक किनारामा स्टिलबार लगाउन थालिएको सडक डिभिजन कार्यालयका महाशाखा प्रमुख रुपकराज भण्डारीले बताए ।

“यहाँका अति संवेदनशील तथा दुर्घटना बढी हुने सडक किनारामा स्टिलबार लगाउन थालेका छौँ”, उनले भने, “स्टिलबार लगाएपछि दुर्घटनामा केही कमी आउने छ ।” जिल्लामा सडक दुर्घटनाका कारण वर्षेनी दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मोहनसिंह धामीले बताए ।

“कच्ची सडक मात्र नभएर जिल्लामा रहेका पक्की सडकमा पनि वर्षेनी ठूला सवारी दुर्घटना भएको पाइएको छ”, उनले भने, “सडकको बनावट र चालकको लापरवाहीले बढी दुर्घटना भएको देखिन्छ, स्टिलबारले दुर्घटना भए पनि रोक्न र छेक्न सक्छ ।”

अत्तरिया दिपायल हुँदै बाजुरासम्मका दुर्घटना बढी हुने सडकमा स्टिलबार लगाइने जानकारी दिँदै सडक डिभिजन प्रमुख भण्डारीले भने, “बढी दुर्घटना हुने तथा जोखिम बढी भएका सडकमा हामीले स्टिलबार लगाउँदैछौँ, स्टिलबारले सवारी दुर्घटना अवश्य रोक्ने छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.