सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीको सपथ ग्रहण बदर गर्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

रिपोर्ट नेपाल | 2021 May 18 | 03:43 pm 3573

काठमाडौं, जेठ ४ः  प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । त्यसपछि अन्तिम निर्णय हुने बताएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।’

गत बैशाख  ३१ गते शीतल निवासमा प्रधानमन्त्री ओलीले सपथ लिने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेको विषय सर्वोच्च अदालतमा पुगेको थियो ।

अधिवक्ताहरु चन्द्रकान्त ज्ञवालीलगायतले प्रधानमन्त्री ओलीले सपथको अंश छुटाएको भन्दै पुनः सपथ लिनुपर्ने मागसहित रिट दायर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.