चितवन, असोज १ : जिल्लामा चालू आर्थिक वर्षको गत महिना साउन र भदौमा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको सर्वेक्षणले देखाएको छ ।
चितवनको जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा उक्त सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण पाएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार ती सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा शहरी क्षेत्रका मानिसमा सङ्क्रमित बढिरहेको राम केसीले बताए ।
गएको आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा यो रोगको सङ्क्रमण भएको थियो । गत आर्थिक वर्षमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएको थियो ती मध्ये ४१० जनामा सङ्क्रमण भेटिएको थियो । मानिसको आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको सङ्क्रमण हुने गर्दछ ।