काठमाडाैं, भदाै ६ः बैंक तथा वित्तीय संस्थाहरूको सेवा विस्तारसँगै नेपालमा वित्तीय पहुँच बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको औंल्याएको छ ।
अध्ययनमा व्यक्तिको एकमात्र निक्षेप खाता गणना गर्दा पनि २०७७ जेठ मसान्तसम्ममा ६७.३४ प्रतिशत नागरिकसँग कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेकोमा पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् ।
२०७७ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता रहेकोमा दुई करोड ९९ लाख २८ हजार ४३६ व्यक्तिगत निक्षेप खाता रहेका छन् । व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा १५ वर्षभन्दा माथिको रहेको अध्ययनमा प्रतिवेदनमा उल्लेख छ ।
वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका शाखाबाट सेवा लिनेको संख्या क्रमशः घट्दै गएको छ ।
२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या पाँच हजार ९७८ पुगेको र ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।
प्रतिएक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रतिएक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
बैंकिङ कारोबारमा प्रविधिको प्रयोग बढ्दै गएको प्रतिवेदनले औंल्याएको छ । प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । यसमध्ये एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा बढी रहेका छन् ।
महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् । युवा पुस्ताको प्रविधि प्रयोगका आकर्षण र कोरोना महामारीका कारण प्रविधिमा आधारित सेवाप्रति आकर्षण बढ्दै गएको भन्दै विद्युतीय माध्यमको कारोबारका लागि वित्तीय साक्षरता बढाउनसमेत अध्ययनले सुझाव दिएको छ । काराेबार दैनिकबाट