काठमाडौं, साउन १४ : सर्लाही र गुल्मीका बाढी तथा पहिरो प्रभावित क्षेत्रका महिला र छात्राहरुलाई ‘सेनेटरी प्याड’ र बालबालिकालाई ‘डाइपर प्याड’ हस्तान्तरण गरिएको छ । लाइन्स क्लबको आयोजनामा मंगलबार रिपोटर्स क्लबमा एक कार्यक्रम गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका समाजसेवी युवा नेता क्षितिज भण्डारी र अनन्त श्रेष्ठले उक्त सामाग्री गुल्मीका लागि समाजसेवी तथा रिपोर्ट नेपालका निर्देशक कृष्ण प्रसाद सापकोटा र समाजसेवी तथा युवा नेता मोतीलाल भण्डारीलाई हस्तान्तरण गरेका थिए भने सर्लाहीका लागि समाजसेवी तथा कलाकार शिवशंकर प्रसाद रिजाल (जोगिन्दर पानवाला) लाई हस्तान्तरण गरेका थिए ।
समाग्री हस्तान्तरण कार्यक्रम लाइन्स क्लब ठमेलका अध्यक्ष दिनेश शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको समेत उपस्थिती रहेका थिए ।

गत साउन ६ गते गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा अविरल वर्षापछि पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो भने सयौंको संख्यामा घरबार बिहीन भएका छन् ।
त्यसैगरी सर्लाहीमा गत असार २६, २७ र २८ गतेको बाढीमा परी दुई जनाको मृत्यु हुनुका साथै २ हजार भन्दा बढी घरमा पूर्ण क्षति भएको १२ हजार ८४ जना सर्वसाधारण विस्थापित भएको तथा ५ हजार ५ सय घरमा आंशिक क्षति पुगेको थियो ।