सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा झडप, एक भारतीयकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 12 | 01:17 pm 2818

सर्लाही , जेठ ३०ः शुक्रबार सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा झडप भएकाे हाे । झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीयको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेको परिचय खुलिनसकेको जानकारी दिएका छन् । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए ।

भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

बीओपीमा कार्यरत एक अधिकारीका अनुसार सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.