पोखरा, फागुन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौता ‘राष्ट्रघाती’ भएको बताएका छन् ।
पोखरामा आज मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले नेपालको कुनै पनि भू–भाग टुक्र्याउने कुरा सैह्य नहुने भन्दै सम्झौतामा ‘जनअभिमत’ भन्दै जनमत संग्रह खुला गरिएको दावी गरे ।
सभापति देउवाले राउत मूलधारको राजनीतिमा नआउने दाबी समेत गरे । उनले राउतका गतिविधि र अभिव्यक्तिको सरकारले खण्डन नगरेको प्रति आपत्ति पनि गरे ।
उनले राउतका गतिविधि र अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । ‘प्रतिपक्ष कमजोर देखियो नि’ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले ‘भोट हाल्ने बेलामा कम्युनिष्टलाइ हाल्ने अनि कांग्रेसको खोजी गर्ने’ भन्दै प्रतिप्रश्न गरे । उनले आफूहरू एमालेजस्तो तीन महिनासम्म संसद नै चल्ने नदिने पार्टी नभएको तर सरकारका क्रियाकलापले हद नाघेपछि अब सशक्त आन्दोलनमा जाने बताए ।