सरकार सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्नेः अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल | 2019 Jun 20 | 01:59 pm 2581

कास्की, असार ५: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसँगको छलफल पछि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने संकेत दिएका छन् । बिहीबार प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग बजेटपछि सरकार पुनर्गठन गर्ने विषयमा छलफल भएको र काठमाडौं पुगेपछि यस विषयमा निर्णय हुनसक्ने बताएका थिए । मन्त्रीमण्डल गठन विघठन प्रधानमन्त्रीको अधिकार भित्र पर्ने भए पनि दुई अध्यक्ष तथा पार्टीका अन्य नेतासँग छलफल गरेर पुनर्गठन गरिने अध्यक्ष दाहालको भनाई रहेको थियो ।

पार्टी र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेका विषय भएको उल्लेख गर्दै उनले यी विषय नयाँ नभएको बताए ।अध्यक्ष दाहालले दुई पार्टीको एकीकरण आफैँमा महान् कुरा भएको बताउँदै राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण भएको उल्लेख गरे ।

पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेका अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जो कोहीले गरे पनि सैह्य नहुने बताउँदै अध्यक्ष दाहालले सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको बताए । चन्द समूहले लिएको बाटो देश र स्वयम् चन्दका लागि पनि हितकर नहुने बताए । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएको प्रसंग उल्लेख गर्दै सरकार जनताप्रति जिम्मेवार रहेको र पेलेर जाने पक्षमा नभएको बताए ।

मिडिया काउन्सिललगायतका विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिदैं उनले विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमी र ल्याएका विधेयकबारे बुझाउन नसक्दा पनि समस्या आएको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले आगामी दिनमा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढिने बताउँदै पार्टीलाई गतिशील बनाउँदै जनतासँग जोड्न एकता प्रक्रियालाई अन्तिम रुप दिने कसरत भइरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.