सरकार विवेकहिन बन्दा कोरोना नियन्त्रण बाहिर गयो : नेता महर

| 2020 Jun 12 | 12:15 pm 1723

काठमाडौं, जेठ ३०ः नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले महामारीको संवेदनशीलतालाई ख्याल नगरी सरकार झुटको खेतीमा लागेको बताएका छन्।

सरकारकै विवेकहिनताले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको दाबी गर्दै नेता महरले असफलतालाई लुकाउन सरकार झुटको सहारा लिइरहेको आरोप लगाएका छन्।

आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नेता महरले संकटको आवरणमा सरकार लोकतन्त्र कमजोर पार्ने खेलमा लागेको उल्लेख गरेका छन्। सरकार आफ्ना अकर्मण्यता लुकाउन राज्यशक्तिको दुरुपयोग गरिरहेको जिकिर गर्दै नेता महरले बिज्ञप्तीमा गृह मन्त्रालयको पछिल्लो धारणा लोकतान्त्रिक मूल्यमान्यता बिपरित भएको ठहर गरेका छन्।

‘सरकार बिरोधीहरूलाई दमन गर्ने तानाशाही शैलीमा उत्रिएको छ’, महरले बिज्ञप्तीमा भनेका छन्, ‘संकटको समयमा सरकारका गतिबिधी निन्दनीय छन्, तिनको कडा शब्दमा निन्दा गर्दछु।’

सरकारबाटै लोकतन्त्र संकटमा रहेको ठोकुवा गर्दै नेता महरले लोकतन्त्र बिरोधी सरकारका गतिबिधी बिरुद्ध एकजुट भएर लाग्न विश्वभरका नेपालीलाई आह्वान समेत गरेका छन्।

सत्य लुकाउन र बिरोधीमाथि दमनका लागि सरकार मिडियामाथि खनिरहेको जिकिर गर्दै महरले राज्य आतंकले लोकतन्त्रलाई संकटतिर धकेलिरेहको दावी गरेका छन्।

नागरिकको स्वास्थ्य जोगाउने मूल जिम्मेवारीलाई बिर्सेर सरकार कार्यकर्तालाई पोस्ने गरी भ्रष्टाचारमा लिप्त भएको महरको आरोप छ। परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थापन, बिपन्न समुदायको जिविका, अर्थतन्त्रको पुनः उत्थानमा सरकारी ध्यान जानुपर्नेमा महरको जोड छ।

नेकपा आफ्नै चुनावी घोषणा पत्रलाई समेत ख्याल नगरी नागरिकका आधारभूत आवश्यकता र अभिभाभकीय भूमिकाबाट बिमुख भएको नेता महरको ठहर छ।

संबिधानको भावना, बिभिन्न अन्तर्राष्ट्रिय मूल्य मान्यता, मानव अधिकारको अवधारणा र राज्यको समावेशी चरित्रलाई सरकारले पुरै वेवस्ता गरेको महरले बिज्ञप्तीमा उल्लेख गरेका छन्।

नागरिक स्वास्थ्यमाथि भइरहेको खेलवाड अन्त्य गरी तत्काल स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन नेता महरले माग गरेका छन्। सरकारको विबेकहीनताले संकट थपिदै गएको उल्लेख गर्दै महरले जनता र देश बिरोधी क्रियाकलापका विरुद्धको आवाजमा एकजुट हुन सबैलाई आग्रह गरेका छन्।

अन्यायलाई सहेर नबस्ने र लोकतन्त्र बिरोधी कार्यको खुलेर बिरोध गर्ने दायित्वप्रति सबैले संवेदनशील हुने बेला आएको महरले ठहर छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.