काठमाडौँ, फागुन २३ : राहत शिक्षकलाई स्थायी गर्नुपर्ने मागसहित केही दिन अघिदेखि आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । वार्तापछि सरकारसँग तीन बुँदे सहमति भएपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता लिएको छ ।
काठमाडौँको माइतीघर र नयाँ बानेश्वरमा आन्दोलन गर्दै आएका ती राहत शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो ।
सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गरिएको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् ।
मन्त्रालय र शिक्षकसँग भएको वार्तामा राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक/खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने सहमति भएको छ ।
उक्त सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि उल्लेख जनाइएको छ ।