सरकार र मिडियाको मिसन साझा हुनुपर्छ : मन्त्री केसी

रिपोर्ट नेपाल | 2018 Aug 01 | 03:43 pm 2963

बुटवल, साउन १६ : प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सरकार र मिडियाले साझा मिसन बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा प्रदेश नम्बर पाँचको कार्यालय बुटवलमा आयोजित साक्षात्कार तथा पत्रकार महासंघ प्रदेश नम्बरका नवनिर्बाचित कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै केसीले पछिल्लो समय केही मिडियाहरूले अप्रशांगिक विषयहरूलाई बढी स्थान दिएको बताए । उनले भने ‘हामी प्रादेशिक मिडिया सम्बन्धी ऐन कानुन बनाउँदै छौँ  ।’

मिडिया भित्रका समस्याहरूको विषयमा सरकार जानकार रहेको भन्दै मन्त्री केसीले त्यसको दिगो समाधानका लागि पत्रकार महासंघ लगायतका निकाय सँग समन्वय गरिने बताए । उनले पत्रकार र राजनीतिक दलकाबीचमा बेला बखतमा देखिने विवाद अन्त्य गरी समाज विकासमा लाग्नुपर्नेमा जोड दिँदै  जन अपेक्षा अनुसार पत्रकारिता जरुरी रहेको औँल्याए।

मन्त्री केसीले भने, ‘पत्रकारिता आकर्षक क्षेत्रको रूपमा विकाश गर्नुपर्छ सरकारले यही ढंगले अघि बढेको छ ।’ उनले प्रदेश ५ मा १२ वटा सूचना केन्द्र बनाउने र प्रादेशीक टेलिभिजन बनाउने गरी काम सुरु गरिने समेत बताए । पूर्वसभासद तथा पत्रकार महासंघको केन्द्रीय सदस्य विनोद पहाडीले प्रदेश सरकारबाट पत्रकारहरूका लागि अध्ययन अनुसन्धान केन्द्र निमार्णकालागि उचित बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश पाँचका अध्यक्ष मौसम रोकाले श्रमजीवी पत्रकार ऐन लागू गर्न गराउन लागि पर्ने बताए । उनले पत्रकार कल्याणकारी कोष निमार्णका लागि महासंघ पाँच नम्बर प्रदेश समितिले पहल सुरु गरेको बताए । पत्रकारिताको विकासका लागि आम सञ्चार प्रतिष्ठान निर्माण गर्न सरकारलाई आग्रह समेत गरे ।

कार्यक्रम रिपोर्टस क्लब पाँच नम्बर प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.