सरकार र डा. केसीबीच भएको सहमति कार्यान्वयन गर्न कांग्रेसको जोड

| 2018 Jul 28 | 07:04 am 4656

काठमाडौं, साउन १२ :  प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ । तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केसीको माग सम्बोधन गर्न गरेको प्रयास सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा विधेयक जारी भए पनि अहिले केसीका माग पूरा भएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।

‘कोइरालाको नेतृत्वमा सरकार हुँदा डा. केदारभक्त माथेमाको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो भने वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले डा. केसीको माग पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४’ जारी गरेको थियो,’ प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘तर, माथेमा कार्यदलको निष्कर्ष र अध्यादेशको मूल मर्मविपरीत वर्तमान सरकारले संसद्मा विधेयक ल्याएका कारण नै बितेको एक महिनाभरि मुलुकमा द्वन्द्व चर्किएको तथ्य जगजाहेर छ ।’

आफ्नो पार्टी नेतृत्वको सरकारले जारी गरेको अध्यादेशले नै अहिले समाधान दिएको भन्दै केसीसँगको सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । ‘विद्यमान समस्याको हल हो भनेर हामीले जो भन्दै आएका थियौँ अन्ततः त्यो सही प्रमाणित भएको छ,’ शर्माले भने, ‘१० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने र स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र सो सुविधा क्रमशः बढाउँदै लानुपर्ने सो अध्यादेशमा उल्लिखित यीलगायत मूल मर्मलाई तोडमोड गरेर विधेयक ल्याउँदा द्वन्द्व बढेको थियो ।’

बाटो बिराएको सरकार अन्ततः बिहीबारको सहमतिमार्फत अध्यादेशको सो मूल मर्म स्वीकार्न सहमत भएका कारण यससम्बन्धी विवाद र द्वन्द्वको अन्त्य कांग्रेसले जनाएको छ । सहमतिलाई स्वागत गरेको कांग्रेस सहमतिको इमानदार कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.