सरकार दुई तिहाइको बहुमत भएपनि त्याे बहुमत सधैं रही रहन नसक्नेः डा भट्टराई

रिपोर्ट नेपाल | 2019 Jun 21 | 01:30 pm 2126

काठमाडौं, असार ६: नयाँ शक्ति पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दुई तिहाइ बहुमतको सरकारलाई आफ्नो दम्भ त्यागेर अगाडि बढ्न सुझाव दिएका छन् । व्यवस्थापिका संसदको बैठक सुरु भए लगत्तै आफ्ना भनाई राख्दै भट्टराईले सरकारले आफ्नो दम्भ प्रदर्शन गर्दै गएको र उक्त दम्भले सरकारलाई नै अप्ठेरोमा पर्ने बताए । उनले अहिलेकाे सरकार दुई तिहाइको बहुमत भएपनि त्याे बहुमत सधैं रही रहन नसक्ने बताए ।

भट्टराईले सरकारलाई विधेयक ल्याउँदा सोचेर मात्रै ल्याउनसमेत आग्रह गरे। सरकारले ल्याएका सम्पूर्ण विधेयकहरु विवादस्पद बन्दै गएको भन्दै उनले भने, ‘विधेयक बनाउँदा विचार गरियोस्, राज्य केन्द्रीकरण उन्मुख हुँदैछ। गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, विज्ञापन विधेयक लगायतका विवादस्पद विधेयक खारेज गर्न माग गर्दछु।’

त्यस्तै उनले सांसदलाई ल्यापटप दिएर मानमर्दन गर्न खोजिएको बताए। उनका अनुसार सांसदलाई ल्यापटप दिन नहुने, यो विलासिताको साधन भएकोले सांसदले आफैं किन्नुपर्ने बताए ।

सांसद, नेता तथा पहुँचवालाहरु सामान्य टाउको दुख्दा पनि विदेश जाने चलन रोक्नुपर्ने बताए। सांसद तथा नेताहरुलाई स्वास्थ्यको लागि सरकारी ढुकुटीबाट खर्च नलिन आग्रह गरे। उनले नागरिकहरुमा नकारात्मक प्रभाव पारेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.