काठमाडाैं, भदाै २७ । गत साउन ३ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकबाट तस्करी गरी ल्याएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँने कुरा सिआइबीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । १ महिना २४ दिन लगाएर तयार पारिएको प्रतिवेदन सिआइबीले आज रायसहित बुझाउन लागेको हो।
सिआइबीको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाइको छ भने सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३२ जनालाई पक्राउ गरेकामा ३१ जना प्रहरी नियन्त्रणमा रहेका छन्। स्वास्थ्यका कारण एक जनालाई हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो। त्यस्तै १८ जना फरारको सूचीमा रहेको जनाइएको छ ।
सिआइबीका अनुसार फरार रहनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती कमला रोकासहित अन्य रहेका छन्।
पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।
सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो। उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने भएका कारण सिआइबीले आज सरकारी वकिललाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको हो ।