काठमाडौं, २६ असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका स्वतन्त्रता विरोधि निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा मंगलवार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको तयारी गर्दैगर्दा उनीहरूलाई गिरफ्तार गरिएको हो । दिउँसो १ बजे सिंहदरबारमा धर्ना बसेलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा समाजकाडी, सभाप संस्थापक सभापति कृष्ण पहाडी, डा। गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, प्रताप पौडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल लगायत २५ जनालाई गिरफ्तार गरको हो।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, यो सरकार कस्तो, श्री ३ जस्तो, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
समाजले असार ३० गते शनिवार दिउँसो १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेटअगाडि दोस्रो विरोध प्रदर्शन गर्ने जनाएको छ । यस्तै असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने जनाइएको छ ।