सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

रिपोर्ट नेपाल | 2020 Dec 12 | 10:27 am 1941

काठमाडौं, मंसिर २७ः सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवाप्रवाह सहज र प्रभावकारी नहुँदा बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल धाउन विवश छन् ।

कतिपय सरकारी अस्पतालले अप्रेसनका लागि लामो समयसम्म पालो कुराउने गरेका छन् । सरकारी अस्पतालले सेवाप्रवाहमा अत्यधिक ढिलासुस्ती गर्ने गरेको अधिकांश बिरामीको गुनासो छ । जसका कारण पछिल्लो तीन वर्षमा केन्द्रीय सरकारअन्तर्गतका अस्पतालको ओपीडी (बहिरंग विभाग)मा आउने बिरामीको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाएको छ ।

२०७६/७७ मा १७ लाख ४१ हजार २० जनाले ओपीडी सेवा लिएको पाइएको छ । २०७४/७५ मा १८ लाख ८९ हजार ३ सय ६९ जना, २०७५/७६ मा १७ लाख ८२ हजार ७ सय १४ जनाले ओपीडी सेवा लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटाका अनुसार सबैभन्दा धेरै २०७६/७७ मा वीर अस्पतालमा २ लाख ९८ हजार ४ सय ४८ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै, प्रसूति गृहबाट २ लाख ५८ हजार ८ सय ९२, भरतपुर अस्पतालबाट २ लाख २४ हजार दुई सय ८१ जना, कोसी अस्पतालबाट १ लाख ९७ हजार ५ सय ८३ जनाले ओपीडी सेवा लिएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ लाख १३ हजार ७ सय ७३, शहीद गंगालाल हृदयरोग निवारण केन्द्रबाट १ लाख १७ हजार ३०, भेरी अस्पतालबाट ९० हजार ६ सय ५६, डडेलधुरा अस्पतालबाट २४ हजार ५ सय २६, कान्ति बाल अस्पतालबाट १ लाख ३ हजार ५ सय ३३ जनाले ओपीडी सेवा लिएका छन् ।

यस्तै, मनमोहन टेकु अस्पतालबाट १ लाख १२ हजार ३ सय ६४ जना, मानसिक अस्पतालबाट ३५ हजार ८ सय एक जना, ट्रमा सेन्टरबाट ५९ हजार २ सय २२ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५६ हजार ३ सय ४८ जना र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट ५७ हजार ९ सय ११ जनाले ओपीडी सेवा लिएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.