काठमाडौं, कात्तिक २, सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ कृष्ण मन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापा रहेका छन् ।
अछाम चौरपाटी गाउँपालिका वडा नं.४ घर भई हाल ललितपुर मनपा वडा नं.१३ सुकुन्ती बस्ने नरेन्द्र कुमार भुललाई मणीकुमारले आफू कामनपा ३ बाँसबारी स्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक हुँ भनी उक्त सहकारीबाट तीस लाख ऋण मिलाई दिन्छु भनी विश्वास दिलाएका थिए ।
उक्त ऋण प्रकृयाकालागि थापाले सहकारी संस्थाको खाता खोल्ने फराम, सदस्य पहिचान फराम, शेयर दरखास्त फराम समेत भर्न लगाई उक्त ऋण रकमको १० प्रतिशतको दरले हुन आउने तीन लाख र सेवा शुल्क बापत १२ हजार गरी जम्मा ३ लाख १२ हजार लिई ऋण नदिलाई ठगी गरी फरार भएका थिए ।
सो घटनाको प्रहरी कार्यालयमा जाहेरी प्राप्त भई अनुसन्धान हुँदा उक्त सहकारी दर्ता नै नरहेको पाइएकोमा फरार अभियुक्तको नाममा सम्मानित काठमाडौंं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएको थियो ।
यसै क्रममा प्रहरी टोलीले फरार थापालाई २०७९ असोज ३१ गते ललितपुर इमाडोलबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।