काठमाडाैं, २४ असार : सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरू बढाएकाे भन्दै मानव अधिकार तथा शान्ति समाजले अान्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार स्वेच्छाचारी हुँदै गएकाे र नागरिक अधिकारमाथि समेत हस्तक्षेप भएकाे ठहर गर्दै समाजले यही असार २६ गते मंगलबारदेखी आन्दोलन सञ्चालन गर्ने भएको हाे ।
अान्दाेलनका क्रममा सरकारले प्रदशर्न गर्न राेक लगाएका निषेधित क्षेत्र ताेड्दै प्रदर्शन गरिने भएकाे छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारकाे दक्षिण गेटअगाडि सरकारको स्वतन्त्रता विरोधी निर्णयहरु र स्वेच्छाचारी गतिविधि विरुद्ध दिउँसो १ बजे धर्ना प्रदर्शन गरिने शान्ति समाजले जनाएकाे छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता हुनेछ ।
यसैगरी असार ३० गते शनिबार १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेटअगाडि दोस्रो विरोध प्रदर्शन गरिने भएकाे छ । असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर संसद भवनअगाडि तेस्रो प्रदर्शन गरिनेछ भने साउन १ गतेदेखि काठमाडाैं उपत्यकाका विभिन्न स्थानहरूमा निरन्तर नागरिक सभा आयोजना गरिने जनाइएकाे छ ।
सभामा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले सम्बाेधन गर्ने समाजद्वारा जारी पेस वक्तव्यमा जनाइएकाे छ । साउन महिनामा गरिने प्रदर्शनसहित दर्जनौ कार्यक्रमहरुको प्रारुप चाँडै सार्वजनिक गरिने बतायइकाे छ ।
‘नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको छ,’ उक्त प्रेस वक्तव्यमा भनिएकाे छ, ‘न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन प्रक्षेपण गरेको हो ।’