सरकारविरुद्ध प्रदर्शनका लागि कांग्रेसको १० बुँदे नारा सार्वजनिक

रिपोर्ट नेपाल | 2020 Dec 12 | 07:41 am 2755

काठमाडाैं, मंसिर २७ः सरकारविरुद्ध नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने प्रदर्शनमा शीर्ष नेताहरूले देशका मुख्य सहरहरुबाट सम्बोधन गर्ने भएका छन्। कांग्रेसले देशभरबाट एकैसाथ देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको र मंसिर १७ गते प्रहरीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने भएको हो।

उक्त आन्दोलनकोलागि कांग्रेसले केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरेको छ। ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन्।

प्रदर्शनका क्रममा केन्द्रले तोकेको बाहेकअन्य नारा प्रयोग गर्न पाइने छैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.