काठमाडौं, असार ३१: सरकारले नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ। नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो। नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो।
मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन्। महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए। नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा.५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए।
लाइसेन्स नक्कली भएको यसरी पत्ता लाग्यो
महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो। मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए। उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको थियो।
नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति रहेछ। मनोजको लाइसेन्स नक्कली रहेछ। पक्राउ परेका चक्रको लाइसेन्स पनि काठमाडौंका विष्णु महर्जनको नाममा रहेको कोड नम्बरबाट लिइएको खुलेको हो।
कहाँबाट वितरण हुन्छ नक्कली स्मार्ट लाइसेन्स ?
नेपालीलाई स्मार्ट लाइसेन्स भारतीय कम्पनी मद्रास सेक्युरिटीले बनाउँदै आएको छ। यो कम्पनीले टेन्डर पाएको हो। बरामद नक्कली स्मार्ट लाइसेन्स पनि यही कम्पनीले बनाएर बिक्री गरेको यातायात व्यवस्था विभाग स्रोत बताउँछ। एउटै कोड नम्बरको लाइसेन्स नेपालस्थित मद्रास सेक्युरिटीबाहेक अरूले दिनै नसक्ने दाबी प्रहरी स्रोतको पनि छ।
तर, महाशाखा प्रमुख एसएसपी पन्त अनुसन्धान भइहरेकाले सत्यतथ्य पत्ता लाग्ने बताउँछन्। ‘केही व्यक्तिमाथि निगरानी बढाइएको छ। उनीहरूले यस्ता लाइसेन्स मोटामोटी ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ,’ पन्तले भने, ‘अनुसन्धान नै टुंगोमा नपुगी सबै तथ्य बाहिर ल्याउन उपयुक्त नहोला।’
मद्रास सेक्युरिटीले स्मार्ट लाइसेन्स वितरणका लागि ऐलन न्यौपानेको नेतृत्वमा कर्मचारी टोली नियुक्त गरेको छ। उनीहरू यातायात व्यवस्था विभागअन्तर्गत कार्यालयमा रहेर काम गर्दै आएका छन्। विभागका एक उच्च अधिकृतले भने, ‘कसैलाई नभन्ने सर्तमा यस्ता लाइसेन्स मद्रास सेक्युरिटीकै कर्मचारीले वितरण गर्ने गरेको साँचो हो। लाइसेन्स लिने र दिनेबीच सहमति जुटेपछि यस्तो काम हुने गरेको देखिन्छ।’ नयाँ पत्रिकाबाट