सरकारले बनाएका जनता आवास मानिस नबस्दै भत्‍किए

| 2019 Jan 12 | 02:54 pm 2776

कैलाली, पुस २८ :  कैलालीको टीकापुर नगरपालिका–८ स्थित रहेको सूर्यपुरका वादी समुदायको घर मानिस नबस्दै भत्किसकेका छन् ।

उक्त ठाउँमै घर भएका गौरी वादी, निर्मल वादीका परिवार पनि भारतमा छन् । किरण वादी कैलालीकै चौमालामा बस्छ । तारादेवी नजिकैको सती बजारमा बस्छ । मानिस नबस्दा प्रेमको जस्तै गौरी, निर्मल, किरण, ताराका घर पनि भत्किन थालेका छन् । ती घरहरु सरकारको जनता आवास कार्यक्रममार्फत बनाएका हुन् । सरकारले कैलालीमा वादी र राजी समुदायका लागि घर बनाई दिएको छ तर बनेका घर मानिस नबस्दै भत्किन थालेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरमा ११ वटा घरमा अहिलेसम्म मानिस बसेका छैनन् । मानिस नबस्ने घर केही भत्किसकेका छन् भने केही भत्किन थालेका छन् । काम गर्न भारत वा नेपालकै अन्य शहरतिर बस्ने वादी समुदायका लागि बनाएका घर अलपत्र परेका छन् ।

सूर्यपुरकै नरेश वादीलाई पनि जनता आवास कार्यक्रमले घर बनाइ दिएको छ । उनका दुई छोरा सरदीप र बबीका लागि पनि घर त बनेको छ तर उनीहरुका नाममा बनेका घरमा कोही बस्दैनन् । जेठो छोरा सरदीप रोजगारीका लागि भारतमा छन् भने कान्छो बबी बाबुआमासँगै बसिरहेका छन् । सरदीप र बबीका घर पनि नबस्दै भत्किने अवस्थामा छन् । जनता आवास कार्यक्रमले घर दिने भएपछि सूर्यपुरको वादी परिवारले आफूसँग भएको घरवास टुक्राटुक्रा पारेर बाबु र ससाना छोराका नाममा अलगअलग घर बनाएका छन् । घर पाउने आशामै सूर्यपुरको वादी बस्तीका ३२ परिवारले ५० भन्दा बढीका नाममा घर मागेका छन् ।

टीकापुर नगरपालिका–१ ज्योतिनगरस्थित राजी बस्तीमा पनि जनता आवास कार्यक्रमबाट बनेका केही घरमा मानिस बसेका छैनन् । २० वटा घर बनेको ज्योतिनगरमा पनि तीन घरमा मानिस बसेकै छैनन् केही घरमा मानिस कहिलेकाहीँ आउने जाने गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेशराज बाग्लेले कैलालीमा जनता आवास कार्यक्रमबाट वादी, राजी, विपन्न मुस्लिमका लागि २०६९/७० देखि २०७३/७४ सम्म ६६० घर बनेका जानकारी दिए । कैलालीमा दुई चरणमा एक लाख ५९ हजार र दुई लाख १५ हजारका दरले ती घर बनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.