सरकारले डा केसीको लचकताको खिल्लि उडायो, केसी जुनसुकै बेला अचेत हुनसक्‍ने

| 2018 Jul 26 | 08:04 am 1621

काठमाडौं- १५ औं आमरण अनशनको २५ औं दिनमा सुरु भएको डा. गोविन्द केसी र सरकारबीचको वार्ता २४ घन्टा नबित्दै भंग भयो। २६ दिनदेखि अनशनरत डा. केसीले अगाडि सारेका सात सूत्रीय मागमध्ये पहिलो बुँदा चिकित्सा शिक्षा अध्यादेशअनुसारको चिकित्सा शिक्षा विधेयकका विषयमा सरकारी वार्ताटोली प्रवेश गर्न नखोजेपछि बुधबार वार्ता भंग भएको हो।

डा. केसी पक्षले संसद्मा विचाराधीन विधेयकमा सच्याउनुपर्ने २२ वटा बुँदा सरकारी वार्ता टोलीलाई बुझाएको छ। तर सरकारी वार्ता टोलीले ती बुँदामा कुरा गर्नै नचाहेको डा. केसी पक्षले बताएको छ। दुई पक्षबीच बुधबार भएको वार्तामा सरकारी पक्ष झन् कठोर रूपमा प्रस्तुत भएको डा केसी पक्षीय वार्ताकार डा. अभिषेकराज सिंहले जानकारी दिए।

उनले भने, ‘मंगलबार अन्य ६ वटा विषयमा करिबकरिब सहमति नजिक थियौं’, उनले भने, ‘सरकारी वार्ताटोलीका सदस्यहरूले बुधबार त विधेयकमा छलफल नै नगरौं भन्नुभयो ।’

यसअघि डा. केसीले संसद्‍मा विचाराधीन विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्‍ने अडान राख्दै आएका थिए। सरकार विधेयक फिर्ता नगर्ने पक्षमा थियो। मंगलबार उच्चस्तरीय राजनीतिक प्रयासपछि संवादहीनता तोडिएको थियो। डा. केसी पक्षले संसदीय प्रक्रियामा लचिलो बन्ने र सरकार पक्ष विषयवस्तुमा लचक हुने सहमति भएपछि संयुक्त विज्ञप्तिसमेत जारी भएको थियो। तर, सरकार विधेयक विषया थप कठोर बनेर वार्ताका लागि भएका न्यूनतम सहमति पनि पालना गर्न नसकेको केसी पक्षको आरोप छ।

केसी पक्षका वार्ता समितिका संयोजक डा सिंहले भने, ‘१५ औ सत्याग्रहको २६ औ दिनमा पुगीसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार भएर प्रस्तुत भयो र डा केसीले अपनाउनु भयको लचकताको खील्ली उडाईयो।’ उनले यस मुद्दालाई सार्थक बनाउने गरि आ-आफ्नो स्थानबाट बीरोधको आवाजहरु उठाउन र अझ सशक्त तरिकाले लाग्न अपिल समेत गरेका छन्।

डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् । ‘हामी उनको स्वास्थ्यबारे जानकारी दिन नियुक्त आधिकारिक व्यक्ति होइनौं तर २–३ दिनमा अनशन रोकिएन भने उहाँ कोल्याप्स हुने स्थितिमा पुग्न सक्नुहुन्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले भने, ‘उहाँको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई हामीले जानकारी दिइसकेका छौं ।’

प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताइन् । उनका अनुसार डा. केसीलाई बुधबार साँझसम्म तीनपटक बान्तासमेत भएको छ। मंगलबारदेखि नै मुटुको चालमा समेत गडबडी देखिएको छ । छाती दुखाइ एकदमै बढेको छ भने रगतमा सुगरको स्तरमा कमी छ। शरीरमा व्यापक मात्रामा इलेक्ट्रोलाइट, लवण आदिको असन्तुलनसँगै रक्तचापसमेत घटेको छ। यो अवस्थामा पुगेको बिरामीलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्ने डा. सिंहले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.