‘सरकारले किन खुट्टा लुलो बनायो बुझिनसक्‍नु छ’

| 2018 Jun 30 | 11:43 am 4394

गोरखा, असार १६: पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सरकार आफैंले गरेका निर्णयहरुबाट पछि हटेको बताएका छन् ।

शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले शुरुका दिनमा थालेको कदम सकरात्मक देखिएपनि पछिल्ला दिनहरुमा आफ्नै निर्णयहरु कार्यन्वयन गर्न डराइरहेको बताए। उनले भने, ‘‘सरकारले किन खुट्टा लुलो बनायो बझिनसक्नु छ, यही ताल हो भने सरकारको सुखद भविष्य छैन, हुने विरुवाको चिल्लो पात भन्थे खस्रो भइसक्यो।’

उनले सिण्डिकेट अन्त्य गर्न सरकार पछि हट्दै गएको आरोप लगाएका छन् । ‘जसले कम बिडिङ गर्छ त्यसलाई ठेक्का दिने प्रक्रिया नै गलत छ,’ उनले भने,‘सस्तो खोज्दा नै गल्ती भयो, फेरी कमिसनखोरी त छँदै छ, त्यसले व्यापक भ्रष्टाचार बढायो ।’ गोरखाकै कतिपय सडकहरु ठेकेदारका कारण समयमै काम सपन्न नभएकोमा उनले चिन्ता जनाए ।

देशभरका सात सय ५३ गाउँ र नगर तथा वडाका केन्द्रहरु जोड्ने सडकलाई प्राथमिकतमा राखेर बाह्रै महिना सञ्चालनमा ल्याउनुपर्ने भट्टराईको भनाइ छ । ‘पानी जहाज र रेल ल्याउने कुरा पनि गर्ने हो, त्यो गर्न एक दशक लाग्छ,’ उनले भने,‘अहिले तत्कालको आवश्कता के हो त्यसलाई हेर्नुपर्‍यो ।’ दीर्घकालीन र अल्पकालीन योजनाको तालमेल नमिलेसम्म विकास सम्भव नरहेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीललाई लक्षित गर्दै उनले उखान टुक्काले मजाक गर्न सकेपनि देशका समस्या हल गर्न नसकिने आरोप लगाए । प्रधानमन्त्रीको भन्दा ठूलो सपना आफूले १० वर्षअघि नै देखिसकेको भट्टराईको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.