कञ्चनपुर, वैशाख ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए ।
उक्त कुरा मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् । साथै सभापति देउवाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ गर्नुको सट्टा दोषीलाई नै संरक्षण दिने र जोगाउने काम सरकारले गरिहेको पनि बताए । उनले घटनाको ९ महिना बितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको उल्लेख गरे।
उनले आफ्नो पार्टी प्रजातान्त्रिक पार्टी भएकोले गुट उपगुट देखिएको हुन सक्ने उल्लेख गर्दै कम्युनिष्ट पार्टीमा समेत गुट उपगुट देखा परेको बताए।
सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरी लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाए। कांग्रेसलाई यस्तो खाले हस्तक्षेप सह्य र मान्य नहुने उनले बताए।
देउवाले नेत्रविक्रम चन्द सम्बन्धी एक प्रसंगमा सरकारले द्वन्द्व र विवाद चर्काउनु भन्दा वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। वार्ता गर्ने जिम्मेवारी पनि सरकार कै हो, सरकार यसबाट पन्छिन नमिल्ने धारणा राखे ।