सरकारले आन्दोलनको निम्तो दियो : देउवा

| 2018 Jul 28 | 04:49 pm 2225

चितवन, साउन १२: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आन्दोलनका लागि कांग्रेसमाथि दबाब दिएको बताएका छन्।

काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन्।

डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई आज गैँडाकोटमा सम्बोधन गर्दै उनले सरकार अलोकतान्त्रिक बाटोमा हिडेर आफूलार्इ आन्दोलनका लागि निम्तो दिएकोले त्यसलार्इ सही मार्गमा ल्याउन कांग्रेसले आन्दोलन गरेको बताएका हुन्।

नेपाली काँग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उनले भने, “हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो।” सरकारले संविधान मिचेर अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरेको हो।

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै उनले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए।

सभापति देउवाले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएकोले पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरेका हुन्।

उनले भने, “पार्टीभित्र अन्तर्घातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन ।” उनले थपे, “यो रोग निधान गर्न म प्रतिबद्ध छु।”

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै उहाँले काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै उनले यो संविधान प्रतिकुल रहेको दाबी गरे।

सो अवसरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नीति तथा प्रशिक्षण विभागलाई चुस्त दुरुस्त बनाएर संघीयता अनुसारका सांगठनिक संरचना बनाइने बताए।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पहिलो पार्टी बन्ने भन्दै यसका लागि सबैले आ-आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए।

कार्यक्रममा सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राज्यमन्त्री देवेन्द्र कँडेललगायतले काँग्रेसलाई एक ढिक्का बनाएर आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए।

वक्ताहरुले सरकारको कार्यशैलीप्रति आलोचना गरेका थिए। एशोसिएसनका अध्यक्ष भरत खरेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । महाधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको एशोसिएसन चितवनका अध्यक्ष विष्णु अर्यालले बताए। महाधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.